काठमाडौ, २५ असार । नक्कली लाइसेन्स प्रकरणमा यातायाता व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी मंगलबार वकिलले उनिहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख उपसचिव केशव अर्याल, त्यहीँ कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्युटर अधिकृत पदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्युटर अपरेटर राजेश लम्साल, यातायात कार्यालय जनकपुरमा कार्यरत सहायक कम्युटर अपरेटर दिलिपकुमार साह, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका केशव पौडेलविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरुले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमती पत्र सम्बन्धि कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा कुनै अभिलेख नरहेको आरोप पत्रमा उल्लेख छ ।
त्यस्तै, उनीहरुको संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतका व्यक्तिहरुको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी सो विवरणका आधारमा बायोमेट्रिक गराइ नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको आरोप पत्रमा उल्लेख छ ।