काठमाडौं, २६ असार । नेकपा एमालेले फरक भूगोलमा पठाएका नेताहरूलाई आफ्नै कार्यक्षेत्रमा फर्काएको छ ।
बुधबार बसेको सचिवालय बैठकले नेताहरूलाई अर्को कार्य विभाजन गरेर निर्वाचन क्षेत्रीय कमिटीलाई प्रभावकारी बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘हामीले एक वर्षअघि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका थियौँ । अब आफ्नै भूगोलमा फर्काइनेछ । नयाँ कार्यविभाजनको आधार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा, त्यो भन्दा माथि जिल्ला वा प्रदेशको जिम्मेवारी लिन पनि सक्यो । आधारभूत इकाई चाहिँ निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्नेछौं ।’
यस्तै बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको ज्ञवालीले बताए ।
२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने उनले बताए ।