काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार १८ गते विहान भएको भेटमा पनि ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी नदिएको प्रचण्डको ब्रिफिङ थियो ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाण्डेले भने, केही भएको छैन, तीन नेता बस्ने कुरा छ भनेपछि प्रधानमन्त्रीले शेरबहादुर देउवासँग सोध्नुभयो । उहाँले सहमति भइसक्यो, सरी भन्नुभयो । ढाँट छल भयो ।’
एमालेसँग गठगबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको भन्दै प्रचण्डले भने, ‘ओलीजीले षड्यन्त्र गर्नुभयो । तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिएपनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्छ ।’
उनले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको बताए । यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने उनको तर्क छ ।