रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्ट प्रकरणमा छानबिन गर्न मुकुल ढकालको माग

अनलाइनसमय |
२७ असार २०८१
रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्ट प्रकरणमा छानबिन गर्न मुकुल ढकालको माग

काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित गरिएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण र पासपोर्ट प्रकरणमा छानबिन गर्न माग गरेका छन् ।

पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् । उनले पासपोर्ट प्रकरणमा लामिछाने दोषी ठहर भए चुनावै लड्न नपाउने भन्दै यो पार्टीका लागि महत्वपूर्ण विषय भएको बताए । पार्टीबाटै यो प्रकरणमा छानबिन हुनुपर्ने उनको माग छ ।

पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’ त्यस्तो समितिमा बस्नेहरु लामिछानेले नभई राजदूत छनोट जस्तै प्रक्रियाबाट ल्याउनुपर्ने उनको माग छ ।

यस्तै १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए । तर, त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे । साथै ढकालले जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस