काठमाडौं, २६ असार । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारीका सञ्चालकहरुसँग सोधपुछ गर्ने भएको छ । बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बोल्दै सभापति सूर्य थापाले कानूनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताए ।
यस्तै विदेशमा भएका सहकारी ठगहरुलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने उनले बताए। सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरुलाई न्याय दिलाउने गरी काम गर्ने उनले बताए । समितिले आश्वासनभन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने उनले बताए । थापाले सरकारको तर्फबाट भएका लुप होलहरु पनि समितिले खोजिरहेको बताए ।
वचत रकम हिनामिना गरेको भन्दै सहकारीका वचतकर्ताले दिएको उजुरीका आधारमा कतिपय सहकारीका सञ्चालक दोषी ठहर भएर र कतिपय पुर्पक्षका लागि थुनामा छन् ।
सभापति थापाले एउटै व्यक्तिले विभिन्न शहरमा छुट्टाछुट्टै सहकारी सञ्चालन गरेको पाइएको भन्दै कानुनमा रहेको छिद्रहरुको पनि खोजी गर्ने बताए । वचत रकम हिनामिना गर्ने उद्देश्यले नै सहकारी सञ्चालन गरेको पनि पाइएको थापाले बताए ।