वेश्यावृत्तिमा लगाएको आरोपमा १९ जना पक्राउ

अनलाइनसमय |
२८ असार २०८१
वेश्यावृत्तिमा लगाएको आरोपमा १९ जना पक्राउ

काठमाडौं, २७ असार । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाएको आरोपमा १९ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाएको आरोपमा ८ पुरुष र ११ महिलालाई पक्राउ गरिएको हो ।

उनका अनुसार ब्यूरोका प्रहरीले रातेपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ब्यूरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

ब्यूरोको तथ्याङ्क अनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन । पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्यूरोले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने तथा वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस