काठमाडौं, २८ असार । गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ ।
आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । आज बसिरहेको प्रतिनिधि सभामा समेत सांसदहरुले रात्रीकालिन यातायात संचालनमा रोक लगाउन माग गरेका छन्।
यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन् । रात्रिकालीन सेवा रोक्नुभन्दा सडक सुरक्षाका उपायमा ध्यान दिनुपर्नेमा उनिहरले जोड दिएका छन् ।
आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । उक्त घटनाबारे जानकारी पाउनसाथ गृह मन्त्रालयमा कमाण्ड पोस्टको आपत्कालीन बैठक बसेको थियो । सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए ।