काठमाडौं, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निःशुल्क खान वस्नको व्यवस्था गर्ने भएका छन् ।
होटल व्यवसायी संघ चितवनले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई निःशुल्क खाना वस्नको व्यवस्था गरिएको जानकारी दिएको हो ।
संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय गरेको जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान÷बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले बताए ।
साथै विज्ञप्तिमार्फत संघले विभिन्न सरोकारवालाहरुलाई पहिरोमा परी वेपत्ता भएकाहरुको खोजी कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेको छ ।
आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बसमा ४१ जना र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ४१ जना यात्रु रहेको प्रहरीले बताएको छ ।
