काठमाडौं, ३० असार । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । आइतबार मन्त्रालयबाट बाहिरिने क्रममा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे । कतिपय फरार अभियुक्त पक्राउ परेसँगै धेरै कुरा बाहिर आएको भन्दै उनले भने, ‘कयौं कुरा बाहिर आएका थिए, सरकार परिर्वतनसँगै सामसुम देखिन्छ । नेपाल प्रहरीले र सीआईबीले दतारुकताका साथ काम गरोस् ।’
लामिछानेले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न समेत आग्रह गरे । ‘मैले आजसम्म आफ्ना विषयमा न यो गर्नुस्, त्यो गर्नुस् भनेको छु न मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट खोजेको छु’ आफ्नै गृहमन्त्रीलाई हत्कडी लगाउन सक्ने साहस भरेको छु भनेर संसदमै भनेको स्मरण गर्दै उनले भने, ‘मन्त्री भएकै कारण अठ्यारो परेको रहेछ भने आजैबाट गहन अध्ययन अनुसन्धान गर्नुस् ।’
यस्तै उनले भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको उल्लेख गरे । ‘अडियो, अरु थुप्रै कुराले पुष्टि हुने ठाउँ प्रशस्त थिए । अनुसन्धानका दुई कुनै शक्ति केन्द्रमा पुग्दा तपाईंहरुको हात नकामोस्, उनले भने ।’
‘टीकापुर घटनाको अनुसन्धानमा कमी नआओस्स् ’ प्रतिपक्षमा बसेर नियालिरहने उनले बताए । अब आफू प्रतिपक्षमा रहने भन्दै उनले राजनीतिमा नयाँ पुस्ता आइसकेको छ र जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने महसुस गर्न सुरक्षा निकायलाई आग्रह गरे ।
उनले भने, ‘प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन् । आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा (नजर), मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’