काठमाडौं, ३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन् । उनीसँगै उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएका छन् । सफाइ पाएसँगै उनिहरुले आइतबार नै कार्यालय गएर कार्यभार सम्हालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । असार २६ गते विशेष अदालतले १२ जनामध्ये मेयर, उपमेयर, तत्कालिन प्रमुख कार्यकारी अधिकृत र अधिकृत गरी चार जनाले सफाइ पाएका हुन् ।
सोही मुद्दामा विशेष अदालतले जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा वडा नं १ को बरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा बाटो ढलान कार्यमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएपछि जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन निलम्बनमा परेका थिए ।
त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इन्जिनियर पवनकुमार झा, अधिकृत छैटौं धिरेन्द्र झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दीपेशकुमार साह, त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी पनि निलम्बनमा परेका थिए ।
उनीहरुले हाट बजारमा भएको वास्तविक काम भन्दा बढी काम भएको भनी झूटा रुपमा तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी पाँच लाख ८४ हजार रुपैयाँ राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।