काठमाडौं, ४ माघ । पछिल्लो समय नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा नेपालमा भित्रिएको वैदेशिक लगानी प्रतिबद्धता १६० दशमलव ८७ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ६ महिनामा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा २७ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । आव २०७८/७९ को पुससम्ममा १० अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको मात्रै लगानी प्रतिबद्धता आएको थियो । यो वर्ष लगानी प्रतिबद्धता घटेको थियो । त्यस्तै आव २०८०/८१ यस्तो लगानी १४८ दशमलव ७६ प्रतिशतले बढेर २६ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पुगेको थियो ।
चालू आवको पुससम्ममा विदेशी लगानीकर्ताले विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २३ अर्ब ३९ करोड, स्वचालित प्रणालीबाट २ अर्ब ३८ करोड र शेयर खरिदबाट १ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् ।
सोही अवधिमा यी प्रणालीमार्फत ३८४ उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । आव २०७९/८० मा यस्तो लगानी प्रतिबद्धता १४६ उद्योगका लागि मात्रै आएको थियो ।
चालू आवको ६ महिनामा ३४५ वटा साना उद्योग, ५ वटा मध्यम (मझौला) र ४ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा १० हजार २४४ जनाले रोजगारी पाउनेछन् ।
सुरुदेखि चालू आवको पुससम्ममा विदेशी लगानीकर्ताले ६ हजार ७५३ उद्योगका लागि ५ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ३८ हजार ५५७ जनाले रोजगारी पाउनेछन् । प्रतिबद्धता बमोजिम लगानी भित्रिए ३ लाख ३८ हजार ५१७ जनाले रोजगारी पाउनेछन् ।
तीन वर्षको लगानी प्रतिबद्धता (पुससम्म)

सबैभन्दा धेरै पर्यटन क्षेत्रमा
चालू आवको ६ महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । विभागका अनुसार पुससम्ममा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४४ प्रतिशत रहेको छ । सो अवधिमा यस क्षेत्रका १५७ वटा उद्योगका लागि १६ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । पर्यटन क्षेत्रका लागि पुसमा मात्रै कुल लगानी प्रतिबद्धताको ६६ प्रतिशत प्राप्त भएको छ ।
त्यस्तै पुससम्ममा आईसीटी क्षेत्रमा ७४ करोड १ लाख १८ हजार वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अटोमेटिक रुट प्रणालीबाट आएको हो ।
कुन क्षेत्रमा कति लगानी ?
प्रतिशतमा

बिजनेस भिसा लिने लगानीकर्ता बढे
पछिल्लो समय नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । विभागका अनुसार ६ महिनामा १ हजार ६५६ लगानीकर्ताले यस्तो भिसा लिएका छन् । गत आवको सोही अवधिमा १ हजार ११ सय जनाले बिजनेस भिसा लिएका थिए । चालू आवको पुसमा मात्रै ३३५ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।
त्यस्तै विदेशी लगाीकर्ताका प्रतिनिधिमार्फत १६८ जनाले बिजनेस भिसा लिएका छन् । गत आवको सोही अवधिमा यस्तो भिसा ९८ जनाले लिएका थिए । चालू आवको पुसमा मात्रै २३ जनाले विदेशी लगाीकर्ताका प्रतिनिधिमार्फत विजनेस भिसा लिएका छन् । ६ महिनामा ४८८ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् । गत आवको सोही अवधिमा यस्तो भिसा २७१ जनाले लिएका थिए । यस वर्षको पुसमा मात्रै ११८ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् ।
रोयल्टीबापत १ अर्ब ६१ करोड बाहिरियो
चालु आवको ६ महिनामा वैदेशिक लगानीकर्ताले रोयल्टीमार्फत १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबर फिर्ता लगेका छन् । गत आवको सोही अवधिमा १ अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपैयाँ बराबरको रकम रोयल्टीबापत फिर्ता लगेका थिए । यो वर्षको पुसमा मात्रै १ अर्ब ५५ करोड २० लाख रुपैयाँ रोयल्टी बाहिरिएको विभागले जनाएको छ ।