गाजामा तत्काल युद्धविराम कार्यान्वयन नगर्ने नेतन्याहुको चेतावनी

अनलाइनसमय |
६ माघ २०८१
गाजामा तत्काल युद्धविराम कार्यान्वयन नगर्ने नेतन्याहुको चेतावनी

काठमाडौं, ६ माघ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् ।

इजरेली प्रधानमन्त्रीले हमासले रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएको बीबीसीले जनाएको छ ।

हमासले प्राविधिक समस्या देखिएको भन्दै आफू अझै पनि उक्त सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ ।
इजरेली फौजहरू गाजाको दक्षिणमा अवस्थित इजिप्टको सीमा नजिकैको रफाह सहरबाट फिर्ता भइरहेका छन् भने सयौँ सहायता सामाग्री बोकेका ट्रकहरू गाजा प्रवेश गर्न पर्खिएर बसेका छन् ।

जरेली सेनाले तीन इजरेली महिला बन्धकलाई बुझ्न आफूले गाजा नजिकै एउटा स्वास्थ्य चौकी खडा गरेको जनाएको छ । उनीहरूको नाम सार्वजनिक नगरेसम्म आफू उक्त सम्झौताको कार्यान्वयनमा अघि नबढ्ने इजरेलले बताएको छ ।
युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजेबाट सुरु हुने तय भएको थियो । हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरू’का भएको स्पष्ट पारेको छ ।

इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए । यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ । युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ ।
युद्धविराम सम्झौता अन्तर्गत अबको केही हप्तामा ३३ जना इजरेली बन्धक पहिलो चरणमा रिहा हुने भनिएको छ । त्यसको सट्टा इजरेलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरूलाई रिहा गर्ने बताइएको छ । बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस