काठमाडौं, १७ माघ । खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा ना१ज ६४२१ नम्बरको टाटा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलका अनुसार दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु छ । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।
छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।