बीमालेख सपर्मण बढ्दा बीमाको पहुँच विस्तारमै चुनौती (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१८ माघ २०८१
बीमालेख सपर्मण बढ्दा बीमाको पहुँच विस्तारमै चुनौती  (भिडियो रिपोर्ट)

काठमाडौं, १८ माघ । मानिसको जीवन अचिश्चितताले घेरिएको हुन्छ, यसको अर्थ जीवनमा जति बेला जस्तोसुकै विपत्ति आइपर्न सक्छ । यस्तै विपत्ति परेका बेला आर्थिक सुरक्षाका लागि मानिसले बीमा गर्छन् । बीमाको काम नै जोखिम हस्तान्तरण गर्नु हो । बीमाको यो महत्व नेपालमा पनि बढ्दै गएको छ । तर अवधि नपुग्दै बीमालेख छाड्ने बढ्दो क्रमले भने बीमाको दिगो विकास र पहुँच विस्तारमै चुनौती देखिएको छ ।

आमबिमितले निश्चित अवधि तोकेर जीवन बीमा गरेका हुन्छन् । त्यसले सोही अवधिभर बिमितको जोखिमको रक्षावरण गर्छ । कानूनतः पहिलो तीन वर्षको किस्ता तिरेपछि बिमितले बीचमै बीमालेख बन्द गराउन सक्छन् । तर, बीचमै छोड्दा जोखिम वहनबाट बीमित वञ्चित हुनुपर्छ । तथ्यांकअनुसार पछिल्ला वर्षमा १५ देखि २० प्रतिशतसम्मले बीमालेख त्याग बढेको छ ।

बीमामा नवीकरण नभएको पोलिसी भने निष्क्रिय भएर बस्छ, यसले पनि बिमितको जोखिम वहन गर्दैन । नवीकरण शुल्क तिरेर त्यस्तो पोलिसी सक्रिय बनाउन वा बन्द गरेर रकम फिर्ता लिन सकिन्छ । पोलिसी सरेन्डरमा भने ठूला बीमालेखमा बढी समस्या देखिएको छ ।

चालू आर्थिक वर्षको पुस सम्ममा बीमालेख समर्पण गतवर्षको तुलनामा संख्या र रकम दुवै बढेको छ । अभिकर्ताबीच अस्वस्थ प्रतिस्पर्धा र क्षमताभन्दा बढीको बीमा गराउँदा पनि यो समस्या बढ्न सक्ने भएकाले बीमित र अभिकर्ता दुवैले बुभ्mनु–बुझाउनु आवश्यक छ ।

गत आर्थिक वर्षमा १४ अर्ब ५० करोड १२ लाख बराबरको १ लाख १३ हजारभन्दा बढी बिमालेख त्याग भएका थिए, जुन अघिल्लो वर्षको भन्दा रकममा ८.६८ र संख्यामा १७.५८ प्रतिशतले बढी हो । बीमालेख समर्पण घटाउन अभिकर्तालाई कमिशन वितरण प्रणालीमा सुधार र जागरुकतामा जोड दिइएको छ ।

बीमालेख समर्पण बढ्नु समग्र बीमा क्षेत्रकै लागि चिन्ताको विषय हो । समयावधिसम्म बीमालेखको निरन्तरताका लागि अभिकर्ताकै बढी भूमिका हुनुपर्ने देखिन्छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५४ हजार ४१४ बीमालेख त्याग भएका छन् । सो अवधिमा रू. ७ अर्ब ४६ करोड ६६ लाखभन्दा बढीको बीमालेख समर्पण भएका हुन् । गतवर्षको यसै अवधिमा रू. ६ अर्ब ५४ करोड ८८ लाखबराबरको ५३ हजारभन्दा बढी बीमालेख सपर्मण भएका थिए ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस