काठमाडौं, ८ चैत । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच द्विपक्षीय बीमा क्षेत्रको सहयोग र ज्ञान आदानप्रदानका विषयमा छलफल भएको छ ।
कुपण्डोलस्थित प्राधिकरणका केन्द्रीय कार्यालयमा भएको सो भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको वर्तमान स्थिति, नेपालले अपनाएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण पुनर्बीमा सम्बन्धी अनुभव र द्विपक्षीय सम्बन्धको सुदृढीकरणका विषयमा छलफल भएको थियो ।
प्राधिकरणका अध्यक्ष ओझाले नेपालको बीमा क्षेत्रको प्रगति र नेपालको अनुभवलाई भुटानसँग साझा गर्न तयार रहेको बताए । उनले भुटानसँगको सहयोग र अभ्यास आदानप्रदानलाई अझ सुदृढ गर्नका लागि नेपाल बीमा प्राधिकरण प्रतिबद्व रहेको उल्लेख गरे ।
डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अघि बढ्ने प्रतिद्वता जनाए ।
भेटका अवसरमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशकपूजन ढुङ्गेल (अधिकारी) लगायत पदाधिकारीहरू र भूटानको रोयल मनिटरी अथोरिटीका उच्च पदस्थ पदाधिकारीहरूको सहभागिता थियो ।