स्टिल उद्यमीले भेटे प्रधानमन्त्री प्रचण्डलाई, भन्सार वृद्धिदर फिर्ता लिन आग्रह

अनलाइनसमय |
२१ जेठ २०८१
स्टिल उद्यमीले भेटे प्रधानमन्त्री प्रचण्डलाई, भन्सार वृद्धिदर फिर्ता लिन आग्रह

काठमाडौं, २१ जेठ । स्टिल उद्योगमा करको दर बढाएपछि विरोधमा उत्रिएको नेपाल फलामे छड उत्पादक संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फिर्ता लिन माग गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वमा फलामे छड उत्पादक उद्योगीले प्रधानमन्त्रीलाई आगामी आर्थिक वर्ष २०८१÷८२ मा स्टिल उद्योग भन्सार महसुल २.५ प्रतिशत बढाइँदा स्टिल उद्योग मारमा पर्ने भन्दै फिर्ता लिन आग्रह गरेको हो ।

उद्योगीले स्टिल उद्योगलाई भन्सार महसुल २.५ प्रतिशत बढाएर सरकारले थप समस्यामा पारेको भन्दै तत्काल खारेज नगरे १८ वटा उद्योगको ३६ अर्ब बढी लगानी जोखिममा पर्ने गुनासो प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

उद्योगीका गुनासो सुनेपछि प्रधानमन्त्री दाहालले आगामी आवको बजेटमा स्टिल उद्योगमा बढाइएको भन्सार महसुलका विषयमा अर्थमन्त्री वर्षमान पुनसँग कुरा गरेको र त्यबारे छलफल चलिरहेकाले माग पूरा गरिने बताए ।

व्यवसायीले स्टिल सिमेन्ट उद्योगजस्तै आत्मनिर्भर हुने चरणमा पुगिसकेको अवस्थामा एकैचोटि करका दर हेरफेर हुँदा समस्या भएको र उद्योगै बन्द हुने स्थितिमा पुगेकाले त्यसबाट बचाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

यसअघि उद्योगीले गत १७ जेठमा अर्थमन्त्री पुनलाई भेटेर बढेको कर फिर्ता लिन आग्रह गरेका थिए। त्यतिबेला अर्थमन्त्रीले बढेको करको दरका विषयमा अध्ययन गरेर मात्र निर्णय लिने व्यवसायीलाई जानकारी गराएका थिए।

अहिले सरकारले ल्याएको नीतिअनुसार दुई वटा उद्योगलाई मात्र प्रत्यक्ष फाइदा पुग्ने र १८ उद्योग बन्द हुने स्थिति रहेको व्यवसायीको दाबी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस